नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिने भएका छन् । कांग्रेससँगको सहकार्यमा एमालेले सरकारको नेतृत्व गर्ने भएपछि वर्तमान सरकारमा सहभागी एमालेका मन्त्रीहरूले आजै राजीनामा दिन तयारी अवस्थामा रहेका हुन् ।
नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमती अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्न एमालेका मन्त्रीहरू राजीनामा बुझाउन जानेबारे अहिले छलफलमा जुटेका छन् । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।
नयाँ सरकार गठनको तयारी अनुसार अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने तयारी रहेको छ । प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार गठन गरेर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिनेछन् ।





