देउवाले गरे ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव

deuoli

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्नेगरि दुई दल मिलेर जान प्रस्ताव गरेका छन् ।

शनिबार ओली निवास बालकोटमा भएको छलफलमा मुलुकको स्थायित्व र सुशासनका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउँदै ओलीलाई सरकारको नेतृत्व लिन र कांग्रेस एमाले मिलेर सरकार चलाउन प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ ।

शनिबार ओली र देउवाबीच बालकोटमा ३ घण्टा लामो छलफल भएको थियो । सो भेटमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने विषयमा केन्द्रीत रहेको स्रोतको दाबी छ ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ ।

बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यता देउवाले प्रधानमन्त्रीको अफर गरेपछि गम्भीर रुपमा पार्टीमा छलफल गर्ने जवाफ ओलीले देउवालाई दिएको स्रोतको दाबी छ । उच्च स्रोतले दिएको जानकारी अनुसार देउवाको प्रस्तावलाई ओलीले उच्च महत्वका साथ लिँदै छिट्टैनै पार्टीको बैठक बोलाएर निष्कर्षमा पुग्ने जवाफ दिएका छन् ।

 

समन्धित समाचार