सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) की उपमहासचिव रामकुमारी झाँक्री पार्टीको आसन्न महाधिवेशन (असार १६–२०) मा महासचिवमा उम्मेद्वारी दिने तयारीमा छिन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेकी नेतृ झाँक्री एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने बेलामा पनि माधव नेपाललाई आड भरोसा दिलाउन सफल नेतृ हुन् । उनले एमालेबाट विद्रोह गर्दा निर्णायक भूमिका खेलेकै कारण नयाँ दलबाट मन्त्री बन्ने अवसरसमेत पाईन् ।
सबै हिसाबले देशको बागडोर युवाहरुले सम्हाल्नुपर्ने पक्षमा दृढ नेतृ झाँक्री यसपटक पार्टीको १०औं महाधिवेशनमा शक्तिशाली पद महासचिवमा भिड्ने तयारीमा जुटेकी छिन् । अरु नेताहरुले महाधिवेशनलक्षित गतिविधि गर्दा उनी भने प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा नै व्यस्त छिन् ।
तर, उनको तयारी भने भित्रभित्रै भैरहेको उनीनिकट नेताहरुको दाबी छ । यसपटक महासचिवमा गंगालाल तुलाधर र डा. विजय पौडेलको पनि दाबी छ । अध्यक्षमा घनश्याम भुसालले पनि दाबी गरेका छन् ।
