जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि आगामी आर्थिक वर्षको विनियोजन बजेट पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेट माथिको छलफलमा भाग लिँदै खानले उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठले आफ्नो जिल्लामा केन्द्रित गरेकाले बजेट पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।
सांसद खानले भौतिक मन्त्रालयको बजेट नेतामुखि भएकाले पनि त्यसलाई पुनर्लेखन गरेर अघि बढाउन उपयुक्त हुने सुझाव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दिए । उनले केही क्षेत्र र केही जिल्लाहरूमा मात्रै बजेट सीमित गराउने काम मन्त्रीहरूले गर्न नहुने बताए ।
‘भौतिक पूर्वाधारमन्त्रीलाई के भन्न चाहन्छु भने– भौतिक पूर्वाधारको बजेट नेतामुखी भएको देखिन्छ । केही क्षेत्र र केही जिल्लाहरूमा सीमित देखिन्छ । तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं,ु सांसद खानले भने, ुयसरी भएन । राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भइराखेको छैन । ’
सांसद खानले योजना आयोगले देशमा रुपान्तरण गर्ने खालको योजनालाई प्राथमिकतामा राखेर सोही अनुसारको कार्यक्रम ल्याउन नसकेको बताए ।