नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।
पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ ।
महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् । दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टीनिकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि संख्या निर्धारण गरिएको छ ।