नेपाली कम्युनिष्ट पार्टीले नयाँ सरकार गठनपछि महँगी बढेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाले नयाँ सरकार बढेसँगै महँगी र कालोबजारी बढेकोमा तत्काल नियन्त्रण गर्न आग्रह गरेको हो ।
यस्तै पार्टीले उचित विकल्पबिना सरकारले सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाएको भन्दै विरोध जनाएको छ । सुकुमबासी व्यवस्थापन, बढ्दो महङ्गी र लोकतान्त्रिक अधिकारको रक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
ताजा जनादेशबाट गठित सरकारले जनअपेक्षा अनुसार सुशासन र समृद्धिका क्षेत्रमा काम गर्नुपर्नेमा उल्टो आर्थिक भार थपिएको नेकपाको जिकिर छ ।
विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णयमा पनि नेकपाले विरोध जनाएको छ । पञ्चायतकालमा समेत संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानविरोधी यस्ता गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा चेतावनी दिइएको छ । ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै नेकपाले चिन्ता जनाएको छ ।
‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ ।





