नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ । पार्टी सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको सुरूवात गरेका हुन् ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’ घोषणा गरेको छ । संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए ।
अभियानअन्तर्गत, देशभरका क्रियाशील सदस्यलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ । तर, पार्टी सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस नेताले बताएका छन् ।
पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । यता, जरा अभियानलाई लिएर देउवा पक्षले विरोध गरेको छ । इतरपक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै यो अभियानको विरोध गरेका हुन् ।





