उपसभामुखमा उम्मेदवारी दिएकोमा राप्रपा महामन्त्री राणा असन्तुष्ट

राप्रपाका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदको उम्मेदवारी पार्टीको संस्थागत निर्णयबिना अघि बढाइएको विषयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले पार्टीका नेता, कार्यकर्ता तथा राष्ट्रवादी समूहबाट निरन्तर फोन र जिज्ञासा आएको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

राणाले आफूहरू गणतन्त्रविरुद्धको आन्दोलनमा रहेको स्पष्ट पार्दै गणतान्त्रिक व्यवस्थाअन्तर्गत संविधानको संरक्षण र कार्यान्वयनसँग जोडिएका कुनै पनि पदमा सहभागी हुनु उपयुक्त नहुने बताएका छन् ।

उनले पार्टीको प्रजातान्त्रिक अभ्यासविपरीत गरिएका निर्णयमा आफ्नो विगतदेखि नै असहमति रहेको र आगामी दिनमा पनि यस्तै निर्णय स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।