आज उपसभामुखको निर्वाचन हुदै

आज उपसभामुखको निर्वाचन हुदैछ ।

आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ ।

उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ ।

उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको समयभित्र दुई जनाको मात्र उम्मेदवारी परेको हो ।

रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।

त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ ।

त्यसैले ठाकुर रास्वपाले मतदान गर्‍यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।