राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ ।
सम्बोधनमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रमका विषयमा सदनलाई जानकारी गराउने छन् ।
यसैबीच शुक्रबार मध्यरातिदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन पनि अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न लागेका हुन्।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।




