आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। सरकार गठनपछि यस्तो प्रकारको बैठक पहिलोपटक हुन लागेको हो।

मध्याह्न १२ बजेपछि हुने छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। बैठकमार्फत सरकारले आफ्नो प्राथमिकता, नीति र देशको वर्तमान राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने लक्ष्य राखेको छ।

सरकारले यसलाई कूटनीतिक सम्बन्धलाई व्यवस्थित र संस्थागत ढंगले अघि बढाउने प्रयासका रूपमा लिएको छ। व्यक्तिगत पहुँचभन्दा औपचारिक र सामूहिक संवादलाई प्राथमिकता दिने संकेत यस बैठकबाट देखिएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार विगतमा देखिएको राजदूतहरूको अस्वाभाविक पहुँच र आवतजावतको अभ्यासलाई यसपटक नियन्त्रण गरिनेछ। नयाँ शैलीको कूटनीतिक अभ्यासमार्फत पारदर्शिता र सन्तुलन कायम गर्ने सरकारको तयारी रहेको बताइएको छ।