प्रतिनिधि सभाको आजको बैठक निकै छोटो र सहमतिको वातावरणमा सम्पन्न भएको छ। सभामुख पदको निर्वाचनका लागि बोलाइएको उक्त बैठक केवल २७ मिनेटमै सकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएसँगै बैठक सकिएको हो। बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए। सभामुखका लागि अर्यालको मात्र उम्मेदवारी परेको जानकारी गराउँदै उनले प्रस्तावक र समर्थकहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।
प्रस्तावकको रूपमा रोस्ट्रममा पुगेका रास्वपा सभापति रवि लामिछानेले निकै संक्षिप्त सम्बोधन गरे। उनले अन्य राजनीतिक दलहरूले उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेकोमा धन्यवाद दिँदै सदनको महत्त्वपूर्ण समय धेरै खर्च गर्न आवश्यक नरहेको बताए। ‘सबै दलको सहमति भइसकेको अवस्थामा म धेरै बोलेर सदनको समय लिन चाहन्न,’ उनले भने । उनले अर्यालको कार्यक्षमता र इमानदारिताले सदनको गरिमा बढ्ने विश्वास व्यक्त गरे। उनले संसदमा बोल्नका लागि १० मिनेट समय पाएपनि सो समय उपयोग नगरेका हुन् । विगतमा तोकिएको समयमा दलका सांसदहरुले लम्बेतान भाषण गर्ने परम्परा रहेको थियो ।
यसैगरी समर्थकका रूपमा बोलेका रास्वपाकै सांसद सुनील लम्सालले पनि छोटो र सटिक धारणा राखे। उनले लामो भाषण नगरी अर्यालको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै उनलाई सफल कार्यकालको शुभकामना दिए। छोटो समयमै आफ्नो मन्तव्य टुङ्ग्याउँदै उनले अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा पूर्ण समर्थन जनाए।
यद्यपि, अन्य समर्थकहरूले भने केही विस्तृत रूपमा आफ्ना धारणा राखेका थिए। सांसद सांसद तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय इतिहास र तटस्थताको महत्त्वबारे चर्चा गर्दै अर्यालले संसद्को अभिभावकीय भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे। उनले कृष्णप्रसाद भट्टराई र दमननाथ ढुंगाना जस्ता पूर्व सभामुखहरूले स्थापित गरेका उच्च मानकहरूको स्मरण गर्दै नयाँ पुस्ताले त्यसबाट सिक्नुपर्नेमा जोड दिए।
अर्की समर्थक एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले चितवनका भूमिहीन र आम नागरिकका समस्याहरूलाई संसद्को मूल मुद्दा बनाउनुपर्ने र सभामुखको आसनबाट ती मुद्दाहरूको सम्बोधनका लागि सहजीकरण हुने अपेक्षा गरिन्। उनले संसद् अब केवल भाषण गर्ने थलो मात्र नभई परिणाम दिने संस्था बन्नुपर्ने बताइन्।
बैठकको अन्त्यमा ज्येष्ठ सदस्य केसीले डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ।





