नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढाउने भएको छ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले शनिवारबाट महाधिवेशन केन्द्रित कार्यक्रमहरू सुरु गर्न लागेको हो।
प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको बैठकले आगामी असोज १६–१९ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो। सोही कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने योजना तय गरिएको छ।
क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा ‘ओरिएन्टेसन’ कार्यक्रम राखिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
प्रतिनिधिहरूको नाम भने आजै विज्ञप्तिमार्फत सार्वजनिक गरिने बताइएको छ।
कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने अभियान सञ्चालन गर्नेछ।
वैशाखभर चल्ने एक महिने अभियानपछि वडाहरूले १५ जेठसम्म सदस्यता प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ। त्यसपछि क्षेत्र र जिल्लाले सदस्यता विवरण ‘इन्ट्री’ गरी २५ जेठभित्र केन्द्रमा पठाउने कार्यतालिका छ।
केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी १५ असारसम्म अन्तिम टुङ्गो लगाउनेछ। असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको तयारी रहेको छ।





