नेपाली कांग्रेस देउवा समूहको छुट्टै बैठक, भोलि फेरि  बैठक बस्ने

नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादबीच पूर्वसभापति शेरबहादुर देउवा समूहको छुट्टै बैठक आज धुम्बाराहीस्थित स्मार्ट होटलमा सम्पन्न भएको छ। बैठक भोलि पुनः दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो।

१४ औँ केन्द्रीय कार्यसमितिमा रहनुभएका नेताहरूको सहभागितामा बसेको उक्त बैठकमा ११४ जनालाई खबर गरिएकोमा ८४ जना नेता सहभागी हुनुभएको जनाइएको छ। बैठकलाई कांग्रेसभित्र देखिएको असन्तुष्टि, नेतृत्व विवाद तथा समानुपातिक प्रतिनिधित्वको विषयमा केन्द्रित महत्वपूर्ण राजनीतिक छलफलका रूपमा हेरिएको छ।

बैठकमा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, विजयकुमार गच्छदार, बद्री पाण्डे, जीवन परियार, मानबहादुर विश्वकर्मा, मोहन बस्नेत, महेन्द्र सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, शारदा पौडेल, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, आशा विक, सीता राना, राधा घले, रामहरि खतिवडा, जीवनबहादुर शाही, ध्यानगोविन्द रञ्जित, राजीव विक्रम शाही, मानबहादुर नेपाली, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशिला मिश्र, डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, आनन्द ढुङ्गाना, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, शिव हुमागाईं, किरण पौडेल, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरु बराल, गणेश लामा, दीपक गिरी, दीलेन्द्र बडू, कुन्दन काफ्ले, श्याम घिमिरे, गेहेन्द्र गिरी, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली, शंकर भण्डारी, सीता गुरुङ, पद्मनारायण चौधरी, कृष्णकिशोर घिमिरे, प्रदीप सुनुवार, शान्ति विकलगायत नेताहरू सहभागी हुनुभएको थियो।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि बैठकमा सहभागी हुनुभएको थियो।

बैठकलाई सम्बोधन गर्दै नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित भएको भनिएका पदाधिकारीहरूले पार्टीको नियमविपरीत कार्य गरेको आरोप लगाउनुभयो। उहाँले विशेषगरी समानुपातिक सांसद चयन प्रक्रियामा गम्भीर त्रुटि र अन्याय भएको दाबी गर्नुभयो।

उहाँका अनुसार पिछडिएको क्षेत्रतर्फ पहिलो नम्बरमा रहनुभएकी विद्या तिमलसिनाको नाम हटाएर उक्त क्लस्टरमै नाम नरहेको पुरुष खस आर्य कोटातर्फ सातौँ नम्बरमा रहनुभएका कालीबहादुर सहकारीलाई समावेश गरिएको थियो। यसलाई उहाँले स्थापित मापदण्डविपरीत भएको बताउनुभयो।

त्यस्तै दलित कोटाको समानुपातिक सूचीको पुरुषतर्फ पहिलो नम्बरमा रहनुभएका मानबहादुर नेपालीमाथि पनि अन्याय गरिएको उहाँको भनाइ थियो।

बैठकमा उठेका विषयहरूमा भोलि थप गहन छलफल गरिने जनाइएको छ। कांग्रेसभित्र नेतृत्व, प्रक्रिया र प्रतिनिधित्वको विषयमा देखिएको विवादले पार्टीभित्रको आन्तरिक राजनीति थप जटिल बन्दै गएको संकेत गरेको छ।