आजदेखि देशका धेरै ठाउँमा वर्षा, हावाहुरी र असिनाको सम्भावना

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव शक्तिशाली बनेसँगै आज शुक्रबारदेखि देशभरिको मौसममा उल्लेख्य बदलाव आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि शनिबार देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ र असिना पर्ने सम्भावना रहेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार साँझदेखि नै बदली सुरु भइसकेको छ। हिजो गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोट लगायतका जिल्लामा वर्षा भइसकेको छ भने यो क्रम आज रातिदेखि थप बढ्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज देशको हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

विभागले हावाहुरी, असिनापानी र चट्याङबाट हुन सक्ने जोखिमबाट जोगिन सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ। विशेष गरी पदयात्रामा रहेका पर्यटक र खेतीपातीको काममा रहेका किसानहरूलाई सतर्क रहन सुझाइएको छ।