राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो ।
सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रुपम निकास भएको भन्दै बधाई ज्ञापन गरे ।
उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’
उनले अगाडि थपे, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ। यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ। तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ। हामी पनि सम्झिइरहनेछौँ। आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ। तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ।’
प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।
भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।
सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे ।
‘सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ ।’
उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए ।
पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बिच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरे ।





