प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गर्नुभएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री कार्कीलाई हिन्दू परम्परा अनुसार नियमनिष्ठापूर्वक जानकी मन्दिरमा पूजाअर्चनाका साथै आरती गराउनुभएको थियो ।

सो क्रममा महन्थ दासले प्रधानमन्त्री कार्कीलाई फूलको माला र माता जानकीलाई चढाइएको चुनरी ओढाएर सम्मान गर्नुभएको थियो । पूजाअर्चनाका क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा रहेको र नित्य दिन पूजा हुँदै आएको सवा लाख शालिग्राम भगवान्‌को समेत दर्शन गर्नुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री कार्की जानकी मन्दिरमा हुँदै आएको सीताराम अखण्ड कीर्तनमा सहभागी हुँदै केही बेर सीतारामको जापसमेत गर्नुभएको थियो ।

११ बजेर ४० मिनेटमा मन्दिर प्रवेश गर्नुभएकी प्रधानमन्त्री कार्कीले करिब १५ मिनेट जति मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । पूजापश्चात् मन्दिरबाट फर्किने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू राजनीतिक व्यक्ति नभएकाले आजको यात्रा धार्मिक भएको बताउनुभयो ।

उहाँले जनकपुरधाम आएर जानकी माताको दर्शन गरेपछि आफूले धर्म गरेको अनुभूति भएको र आफू निकै खुसी भएको बताउनुभयो । नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुरधाम आउनुभएकी प्रधानमन्त्री कार्कीले जनकपुर विमानस्थलमा सुरक्षा अधिकारीहरूसँग छोटो अन्तर्क्रियापश्चात् जानकी मन्दिर पुग्नुभएको थियो ।

जनकपुर विमानस्थलमा प्रधानमन्त्री कार्कीलाई मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोसहित धनुषाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभएको थियो । जानकी मन्दिरमा पूजाअर्चनापश्चात् प्रधानमन्त्री कार्की महोत्तरीको गौशाला जानुभएको छ । प्रधानमन्त्री कार्कीले महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।