मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने

मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

नयाँ संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने भएपनि चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडानका कारण सुशीला कार्की नेतृत्वको चुनावी सरकारले नै बैठक आह्वान गर्न लागेको हो ।

यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो ।

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले यो सरकारले नै अधिवेशन आह्वान गर्न लागेको हो ।

कार्की सरकारका एक मन्त्रीले चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने जानकारी दिए ।

सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै संघीय संसद् सचिवालयलाई जानकारी गराइएको जनाइएको छ ।