प्रधानमन्त्री सुशीला कार्कीले प्रसिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छन्। बिहीबारदेखि कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान करिब १५ मिनेट चन्दननाथ मन्दिरमा पूजाआजा गरेकी हुन्। चन्दननाथमा प्रधानमन्त्रीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सन्देश जाने विश्वास चन्दननाथ गुठी समितिले व्यक्त गरेको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन्। शुक्रबार बिहान चन्दननाथ मन्दिर पुग्दा जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रधानमन्त्रीले पूजाआजा गरेको जानकारी जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दिएका छन्।
‘चन्दननाथमा पूजाआजासँगै प्रधानमन्त्रीको जुम्ला कार्यतालिका सम्पन्न भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले यहाँ नेपाली जनताको शान्ति र समृद्धिको कामना गर्नुभएको छ।’
बिहीबार बिहान काठमाडौंबाट प्रस्थान गरेकी प्रधानमन्त्री कार्कीले मुगुको राराताल तथा जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको पनि अवलोकन गरेकी छन्। कुनै औपचारिक कार्यक्रमबिना कर्णाली भ्रमणमा निस्किएकी प्रधानमन्त्री निर्वाचनपूर्व निरीक्षण भ्रमणमा कर्णाली पुग्न नसकेकाले निर्वाचनपछि त्यहाँ पुगेकी हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया पनि गरिन्। छलफलका क्रममा उनले सीमित स्रोतसाधन र कठिन भूगोलका बाबजुद प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएकोमा सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरिन्। साथै, उनले स्थानीय नागरिकलाई शान्तिपूर्ण र सफल निर्वाचनका लागि देखाएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद दिन कर्णाली भ्रमणमा निस्किएकी थिइन्। भ्रमणका क्रममा उनले रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको निरीक्षण गरिन्।
यस्तै, उनले मुगु र जुम्लाका सुरक्षा प्रमुखहरूसँग समेत छलफल गर्दै निर्वाचनमा देखिएको सक्रियताको उच्च प्रशंसा गरिन् र सुरक्षा निकाय, कर्मचारी तथा मतदाताप्रति धन्यवाद ज्ञापन गरिन्।





