नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्, यद्यपि पार्टीले औपचारिक रूपमा यसबारे सार्वजनिक गरेको छैन।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार रहेका थापा अमरेशकुमार सिंह सँग ठूलो मतान्तरले पराजित भए। सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याएका थिए। यस परिणामपछि थापाले राजीनामाको तयारी गरेका थिए, तर पार्टीभित्रका विभिन्न तहका नेताहरूले उनलाई निर्णय पुनर्विचार गर्न सुझाव दिँदै आएका थिए।
थापा पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए।
कांग्रेस अहिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको छ। आमनिर्वाचनको समीक्षा तथा थापाको राजीनामाबारे निर्णय गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने तय गरिएको छ।




