रवि लामिछानेको मुद्दामाा आज पनि सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ।

सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा बहस भएको थियो। तर समय अभावका कारण बहस टुंगिन नसकेपछि अर्को सुनुवाइ मंगलबारका लागि तय गरिएको हो।

यसअघि आइतबार पनि सोही मुद्दामा प्रारम्भिक सुनुवाइ भएको थियो। त्यतिबेला पनि बहस अधुरो रहेपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर सोमबारका लागि सारिएको थियो।

यस प्रकरणमा अघिल्लो इजलासले रिटलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। त्यसपछि हाल उक्त विषयमा विस्तृत बहस जारी रहेको छ।

सरकारको तर्फबाट लामिछानेमाथि पहिले दर्ता गरिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाइएको थियो। सो निर्णयविरुद्ध विभिन्न अधिवक्ताले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

यसबीच अदालतले अन्तिम निर्णय नदिएसम्म जिल्ला अदालतमा रहेको मुद्दाको प्रक्रियामा पनि तत्काल कुनै नयाँ निर्णय नहुने बताइएको छ। यद्यपि लामिछानेमाथि लागेको सहकारी ठगीसम्बन्धी मुद्दा भने अलगै रूपमा कायम रहने अवस्था रहेको छ।