नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई दुई दिने प्रशिक्षण दिने भएको छ । पार्टीले यही चैत ३ र ४ गते काठमाडौंमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न लागेको हो ।

नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण कार्यक्रम तय गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रशिक्षण कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछ । संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउन र जनसरोकारका मुद्दाहरूलाई कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले सांसदहरूलाई प्रशिक्षण दिने योजना रहेको छ ।

यो प्रशिक्षण कार्यक्रमलाई रास्वपाले आफ्नो संसदीय यात्राको महत्त्वपूर्ण तयारीको रूपमा लिएको छ । महामन्त्री बुर्लाकोटीले सबै सांसदहरूलाई कार्यक्रमको समय र तालिका अनुसार तयारी अवस्थामा रहन सूचित गरेका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट रास्वपामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।