नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौ जना सांसदको नाम टुंगो लगाएको छ । नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंगो लगाएका हुन् ।
पार्टीले समानुपातिकमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरेको हो ।
फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७, काँग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार/चार जना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर आज साँझ ५:०० बजेसम्म आयोगमा पेस गर्नुपर्नेछ ।
दलबाट आएको नाम तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा भए आयोगले आजै निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । नमिलेमा फेरि सच्याउन समय तोकिने छ। समानुपातिक प्रणालीबाट ११० जना उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ ।





