न्याय परिषद्ले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि परिषद्ले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस हुनेमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदी रहेका छन्। सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा तीन वर्ष काम गरिसकेका व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने कानुनी व्यवस्था छ।
संविधान र कानुनअनुसार बहालवाला प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिसक्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुरूप न्याय परिषद्ले योग्यता पुगेका न्यायाधीशहरूको अभिलेख संवैधानिक परिषद्मा पठाएको हो।
अब प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले यी ६ जनामध्येबाट एक जनाको नाम भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्नेछ। संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक प्रावधान छ।





