धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई आधिकारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गर्यो।
नेकपाका कार्यकर्ता तथा समर्थकहरूको चर्को दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यो कदम चालेको हो। निर्वाचन आयोगले यसअघि रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरे पनि उनले प्राप्त गरेको मतको लगत राख्न निर्देशन दिएको थियो। तर, लगत्तै अर्को पत्र पठाउँदै आयोगले तत्काल परिणाम सार्वजनिक नगर्न र प्रमाणपत्र नदिन आदेश दिएको थियो, जसले गर्दा केही समय अन्योल सिर्जना भएको थियो।
मातृका प्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरी विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामपलटन साहले ९ हजार ४८५ र नेकपा (एमाले) का रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरे। रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिन्हमा परेको मत मातृका यादवको भन्दा झन्डै दोब्बर थियो।
नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले उम्मेदवारी खारेज भइसकेको अवस्थामा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु निर्वाचन ऐन विपरीत भएको भन्दै आपत्ति जनाएका थिए। आयोगले रास्वपाको पत्रका आधारमा प्रमाणपत्र दिन आलटाल गरे पनि अन्ततः यादवलाई निर्वाचित घोषित गर्यो। रास्वपा उम्मेदवार किशोरी साह कमलको कालोसूची सम्बन्धी मुद्दा भने अहिले सर्वोच्च अदालतमा चलिरहेको छ।




