जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरु प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।
सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटकपटक समय थपेको थियो । तेस्रोपटक माघ २९ गते २५ दिन म्याद थप गरिएको थियो। आयोगले जाँचबुझको काम सके पनि निर्वाचन बिथोलिने डरले सरकारले नै चुनावपछिलाई धकेलेको थियो ।
जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । जाँचबुझ आयोगले दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिएको थियो ।





