शक्ति बस्नेत, निकोलस र श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

निर्वाचन आयोगले दुई उम्मेदवार र एक पार्टीलाई २५ हजार जरिवाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा जरिवानाको निर्णय भएको आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का उम्मेदवार शक्ति बस्नेतलाई आयोगले २५ हजार जरिवाना गराएको हो । पूर्वमन्त्री बस्नेतले निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरी परेको थियो ।

त्यस्तै, रूपन्देही– २ का उम्मेदवार डा. कमल भुसाललाई पनि २५ हजारको जरिनाको निर्णय भएको छ । उनी निकोलसका नामबाट चर्चित छन् । भुसाल नेपाल जनसेवा पार्टीका उम्मेदवार हुन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना तोकिएको छ । भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठक र बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनुवारलाई आयोगले सचेत गराउने निर्णय गरेको छ ।