हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका व्यक्तिहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सन्देश सभामा उनले दृढतापूर्वक चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुमा अपिल गरे ।

‘अझै पनि केही मानिसहरु निर्वाचन हुँदैन भन्न छाडेका छैनन् । यसखालको प्रचारको पछि नलाग्न र दृढतापूर्वक चुनावको तयारीमा लाग्न अपिल गर्न चाहन्छु । प्रतिगामीहरुको यसखालको हर्कत र चलखेलको केही अर्थ छैन,’ उनले भने ।

उनले अहिले देशमा शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउकोमा ताकेर गोली हान्ने र देश जलाउने राजनीतिक प्रवृत्ति आमनेसामने भएको टिप्पणी गरे । यिनै हत्यारा र विध्वंशकारी दुई प्रवृत्तिविरुद्ध नेकपा खडा भएको उनको भनाइ छ ।

‘नेकपा यो चुनौतीपूर्ण घडिमा देशलाई बचाउने संकल्पकासाथ खडा भएको छ । हत्यारा र विध्वंशकारीलाई जनताले स्वीकार्ने छैनन्’ उनले भने । उनले अबको बाँकी १२ दिन युद्धस्तरमा खट्ने हो भने नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गरे ।

संयोजक प्रचण्डले नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै हावाहुरी केही दिन आएजस्तो देखिए पनि सधैं नचल्ने भन्दै नेकपाको विजय यात्रा अगाडि बढिसकेको जिकिर गरे ।