नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल ले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन्। बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने दृढ मनस्थिति व्यक्त गरे।
नेता नेपालले यसपटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारे। उनले अन्तरात्माको आवाज सुन्दै चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए।
चुनाव नलड्ने घोषणासँगै उनले आफ्नो आगामी योजनाबारे पनि जानकारी दिए। अबको समय अध्ययन, लेखन, देश–विदेश भ्रमण तथा सामाजिक सेवाका कार्यमा बिताउने योजना रहेको उनले बताए।
सोही अवसरमा उनले आफूविरुद्ध लगाइएको पतञ्जली जग्गा प्रकरणको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरे। उनले केपी शर्मा ओली ले आफूलाई सिध्याउने नियतले षड्यन्त्र बुनेको आरोप लगाए। ओलीले आफू मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विरोध गर्ने अन्य दलहरूलाई पनि नछाडेको र संकुचित राजनीति गरिरहेको उनले टिप्पणी गरे।
माधव नेपाल हाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनीविरुद्ध विशेष अदालतमा पतञ्जली योगपीठको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ।





