जनकपुरधाममा गगन थापाले भने- मधेसलाई ज्ञानको केन्द्र बनाउँछौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसलाई ज्ञानको केन्द्र बनाउने बताएका छन्।

बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले मधेस ज्ञानको केन्द्र रहेको बताए। पहिले मधेसबाट गणित र विज्ञानका शिक्षक पहाड र हिमालमा गएर शिक्षाको ज्योति फैलाएको उल्लेख गरे।

अहिले मधेश शिक्षामा कमजोर देखिएको भन्दै अब मधेसलाई ज्ञानको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो। ‘मधेसलाई ज्ञानको केन्द्र बनाउन आएका छौँ,’ थापाले भने।

उनले संघीयतालाई बलियो बनाउनुपर्ने बताए। त्यसका लागि आफू योजना र संकल्पसहित मधेसमा आउको उनले बताए। ‘संघीयतालाई जोगाउनुपर्नेछ। कामकाजी बनाउनुपर्नेछ,’ थापाले भने, ‘मधेस प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका समस्या हल गरेर नेपाललाई संघीयता किन चाहिन्छ भनेर प्रमाणित गर्छौँ।’

यसका लागि आफ्नो टोलीले अध्ययन गरेको बताए। अध्ययनका आधारमा योजना र संकल्प सहित मधेसमा आएको उनको भनाइ थियो।