नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो ।
प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ।
प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने कांग्रेसले अपेक्षा गरेको छ।
जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ।
आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।





