दुर्गा प्रसाईंको रिहाइ माग गर्दै राप्रपाको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल विना शर्त रिहा गर्न माग गरेको छ।

मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंको रिहाइका लागि ध्यानाकर्षण गराएको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रसाईंलाई विना शर्त रिहा गर्न औपचारिक रूपमा आग्रह गरिएको छ।

प्रहरीले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा प्रसाईंलाई सोमबार राति पक्राउ गरेको थियो। यसअघि पनि उनी माघ २३ गते सोही आरोपमा पक्राउ परेका थिए र दुई दिन हिरासतपछि हाजिरी जमानीमा रिहा भएका थिए। उनी माघ २५ गते मात्र छुटेका थिए।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकसमेत हुन्। उनलाई पुनः पक्राउ गरिएको विषयलाई लिएर राप्रपाले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।