नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा ठाउँ- ठाउँमा शंकास्पद बस्तु भेटीए

नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ ।

फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार पनि खुलेका छन् ।

हेटौंडामा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

मङ्गलबार बिहान हेटौँडा–१६, चिसापानीस्थित धरान चतरा सडक खण्डमा भेटिएको शङ्कास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । आज बिहान ५ः१५ बजे सेतो कपडाले बेरिएको शङ्कास्पद बस्तुमा खतरा लेखिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थल पुगेर सो क्षेत्र सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो । बिहान ८ः१० बजे नेपाली सेना र प्रहरीको टोलीले शङ्कास्पद बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।