नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको आधारभूमि रुकुमपूर्व भएको र यही भूमिबाट समृद्धि र समाजवादको नयाँ अध्याय सुरु भएको बताएका छन् ।
रुकुमपूर्वमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै प्रचण्डले रुकुमपूर्वको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले रुकुमपुर्व पछाडि पारिएको जिल्ला नभएर देशकै नमुना विकासको केन्द्र बनाउने जिम्मेवारी मैले लिएर आँफूले यहाँबाट उम्मेदवारी दिएको जिकिर गरे ।
प्रचण्डले पूर्वाधार विकासलाई प्राथमिकता दिने उल्लेख गर्दै सडक, अस्पताल र रोजगारी बिना विकास सम्भव नभएकोले पहिलो प्राथमिकता रुकुमपूर्वमा आधारभूत पूर्वाधार विस्तार भएकोमा जोड दिए। पुर्वाधार विकाससंगै बेरोजगारी अन्त्य गर्ने र रोजगारका अवसरहरुको सिर्जना गर्न रुकुमपूर्वको विकासमा आफ्नो नेतृत्व केन्द्रित रहने बताए। प्रचण्डले भने, “रुकुमपूर्वलाई विकासको नक्सामा पहिलो नम्बरमा ल्याउने जिम्मा मेरो हो,” साथै यहाँको आवाज देशको नीति निर्माणको पहिलो नम्वरमा आउने समेत प्रचण्डले बताए।
प्रचण्डले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “जनताले परिवर्तनका लागि गरेको बलिदान खेर जान दिने छैनौँ, रुकुमपूर्वलाई अवसरको जिल्ला बनाइनेछ,जनताको बलिदानको माटोमा अब समृद्धिको बीउ रोप्ने समय आएको छ ।”
उनले आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्याउँदै भने, “म भाषण गर्न मात्र आएको होइन, रुकुमपूर्वको विकासलाई परिणाममा देखिने गरी अघि बढाउन आएको हुँ,” र “म वाचा गरेर होइन, काम गरेर देखाउने राजनीति गर्छु ।”
उनको चुनावी अभियानमा सिस्ने, भूमे र पुथाउत्तरगङ्गालगायत क्षेत्रका बस्तीमा पुग्दा स्थानीयले उनलाई भेटेर जिल्लाको विकासबारे अपेक्षा राखेका छन् । स्थानीयले सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । हिमाली र नयाँ जिल्ला भएकाले विकासलाई तीव्र रूपमा अघि बढाउनुपर्ने धारणा मतदाताले राखेका छन् । गाउँका विभिन्न स्थानमा मतदाताले चुनावप्रति चासो देखाउँदै उम्मेदवारसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या र आवश्यकता राखिरहेका छन् ।
पुथाउत्तरगङ्गा गाउँपालिका–१२ का एक स्थानीयले जिल्लाको विकासका लागि प्रभावकारी योजना आवश्यक रहेको बताए । जिल्लामा आधारभूत पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सेवा सुविधा बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
भूमे गाउँपालिका–६ का अर्का स्थानीयले पनि विकासका कामलाई प्राथमिकता दिनुपर्ने बताए । गणतन्त्रपछि अपेक्षा गरिएअनुसार गाउँमा पर्याप्त परिवर्तन नभएको उल्लेख गर्दै अब ठोस काम हुनुपर्ने बताए।
नेकपाका जिल्ला संयोजक कुमारी बराल गौतमका अनुसार प्रचण्डले गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । चुनावी अभियानअन्तर्गत विभिन्न स्थानमा भेटघाट र जनसभा कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।
यहाँ प्रचण्डको पक्षमा जनलहर रहेको नेकपा रुकुमपूर्वले केन्द्रविन्दुलाई बताएको छ ।





