आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सहज र सरल बनाउँदै मत बदर हुने प्रतिशत घटाउन आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा यो अभियान चलाउन लागेको हो। यस कार्यक्रमअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ।
स्वयंसेवकहरूले मतदाताको घर–बस्तीमै पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
आयोगले यसअघि नै सबै स्थानीय तहमा तोकेका सम्पर्क व्यक्तिहरूलाई नै यस कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी सुम्पिएको छ। मतदाता शिक्षाले निर्वाचनमा जनसहभागिता बढाउनुका साथै बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ।
आयोगले यो महत्त्वाकाङ्क्षी कार्यक्रम सफल पार्न सातै प्रदेश सरकार, सबै स्थानीय तह, चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार र सञ्चार जगत् लगायत सम्पूर्ण सरोकारवालालाई सहयोगका लागि अनुरोध गरेको छ।
आम नागरिकलाई आफ्नो मताधिकारको महत्त्व बुझाउन र मतदान गर्ने सही प्रक्रिया सिकाउन यो कार्यक्रम निकै प्रभावकारी हुने आयोगको ठम्याइ छ। सही तरिकाले मत सङ्केत गर्न नजान्दा धेरै मत खेर जाने समस्यालाई सम्बोधन गर्न यो अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ।




