आगामी निर्वाचनमा ‘जेन–जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. कमल (निकोलस) भुसालले सन् २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका योजनासहितको अवधारणा सार्वजनिक गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी घोषणापत्रको मस्यौदा सार्वजनिक गर्दै उनले नेपाललाई वि.सं. २०९० सम्म ‘हरित स्वर्ग’ र सन् २१०० सम्म विश्व शान्ति संगठनमार्फत पृथ्वीलाई नै स्वर्गको रूपमा चिनाउने दाबी गरेका हुन् ।
घोषणापत्र लेखनकै चरणमा रहेको जानकारी दिँदै उनले यसमा आम सर्वसाधारणसँग सुझावको अपेक्षा समेत गरेका छन् ।डा. भुसालले सार्वजनिक गरेको अवधारणामा आर्थिक र सामाजिक सुधारका लागि समयसीमासहितका प्रतिज्ञाहरू समेटिएका छन् ।
उनले पदभार ग्रहण गरेको एक महिनाभित्र ‘जेन–जी’ पुस्ताका सम्पूर्ण माग पूरा गर्ने र तीन महिनाभित्र सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको डुबेको रकम फिर्ता गराउने उद्घोष गरेका छन ।
त्यस्तै, एक वर्षभित्र शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, खानेपानी र बिजुली पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने तथा तीन वर्षभित्र स्वदेशमै रोजगारी सिर्जना गरी देशको सम्पूर्ण ऋण तिर्ने उनको योजना छ ।
अझ अघि बढ्दै उनले पाँच वर्षभित्र ३ हजार खर्बको अर्थतन्त्र निर्माण गरी सबै नेपालीलाई करोडपति बनाउने र आठ वर्षभित्र नेपाललाई स्वर्गको नमुना बनाउने दाबी प्रस्तुत गरेका छन् ।राज्यको शासकीय स्वरूप र नीतिगत व्यवस्थामा आमूल परिवर्तनको प्रस्ताव गर्दै उनले नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध र किरात राष्ट्र घोषणा गर्ने बताएका छन् ।
संघीयताको वर्तमान संरचनाप्रति असहमति जनाउँदै उनले प्रदेश सभा र मन्त्रीहरू खारेज गर्ने तथा शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी राज्यले लिने नीति अघि सारेका छन् ।
नेपालका खानी, पानी, जल, जंगल र जडीबुटीको वैधानिक प्रयोगमार्फत आर्थिक क्रान्ति गर्ने र ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासनयुक्त नेपाल निर्माण गर्ने उनको भनाइ छ ।
साथै, आयात न्यूनीकरण गर्दै तीन वर्षमा व्यापार घाटा अन्त्य गर्ने र यातायात व्यवसायीहरूलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने योजना पनि उनले समेटेका छन् ।विशेषगरी रूपन्देही जिल्लालाई केन्द्रमा राखेर उनले स्थानीय विकासका खाकाहरू पनि कोरेका छन् ।
जसअनुसार बुटवललाई शिक्षा, तिलोत्तमालाई औद्योगिक र सैनामैनालाई सूचना प्रविधिको केन्द्रबिन्दु बनाउने उनको योजना छ ।लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउने, तिनाउ खोलाको तटबन्ध तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने र ज्योतिनगरको पहिरो नियन्त्रण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।
पर्यटकीय विकासका लागि एक वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्दै उनले विभिन्न धार्मिक धाम तथा पार्कहरूको स्तरोन्नति गर्ने बताएका छन् । हरेक वडामा खेल मैदान र एक प्रदेश एक रंगशाला निर्माण गर्ने उनको प्रतिबद्धता छ ।
आफूलाई विश्वको गुरु राष्ट्रका नागरिकका रूपमा चिनाउँदै डा. भुसालले नेपाल गरिब देश नभई गरिब बनाइएको तर्क गरेका छन् ।
उनले राष्ट्रियता, एकता, मानवता र आत्मनिर्भरतालाई मूल सिद्धान्त मान्दै ग्लोबल पीस युनियन मार्फत विश्वका शक्ति राष्ट्रहरूसँग समन्वय गरी विश्व शान्तिको नेतृत्व नेपालले गर्ने महत्वाकांक्षा राखेका छन् ।





