नेपाली कम्युनिस्ट पार्टी र चुरे भावर पार्टीबीच एकता

नेपाली कम्युनिस्ट पार्टी र चुरे भावर पार्टीबीच पार्टी एकता सम्पन्न भएको छ । पेरिसडाँडामा आयोजित कार्यक्रममा एकतासम्बन्धी सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै समाजवादको दिशामा अघि बढ्नका लागि एकता अपरिहार्य भएको बताए । उनले देशमा विद्यमान अन्याय, विभेद र शोषणको अन्त्यका लागि कम्युनिस्ट आन्दोलनलाई अझ सुदृढ र एकीकृत बनाउने आवश्यकता रहेको उल्लेख गरे । जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा एकताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

पार्टी एकतापछि चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चुरे–भावर क्षेत्रका जनताको मुद्दा अब राष्ट्रिय राजनीतिको मूलधारमा सशक्त रूपमा उठाइने बताए । उनले पर्यावरण संरक्षण, भूमिहीन समस्या, सुकुम्बासी र सीमान्तकृत समुदायका सवाललाई प्राथमिकतामा राखेर संयुक्त रूपमा संघर्ष अघि बढाइने बताए । कम्युनिस्ट आन्दोलनसँग एकताले आफ्नो राजनीतिक यात्रालाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।

एकतासँगै चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । दुवै पक्षले साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार र जनआन्दोलनलाई सशक्त बनाउने विषयमा सहमति जनाएका छन् । पार्टी एकताले मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा नयाँ ध्रुवीकरणको गरेको नेताहरूले बताएका छन् ।