आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङले आज आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियान सुरु गर्दै छन्।
गोरखाको चुमनुब्री गाउँपालिकाबाट आज घरदैलो अभियान सुरु गर्न लागिएको गुरुङले जानकारी दिएका छन्।
‘आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर नमस्कार। आजदेखि हाम्रो गोरखाको चुमनुब्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दै छु, यो यात्रा कुनै पदको चाहनाले होइन, यो गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो, वीरहरूको भूमि गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै म तपाईंहरूसामु आएको हुँ’, गुरुङले मंगलबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले भोगेका कठिन दिन, अधुरा सपना र अझै बाँकी रहेका कामहरू पूरा गर्न तपाईंहरूको साथ, विश्वास र आशीर्वाद नै मेरो सबैभन्दा ठुलो शक्ति हो, त्यो भरोसाको ऋण म विकास, सुशासन र इमानदार सेवामार्फत तिर्ने वाचा गर्दछु, देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन, गोरखाको सम्मान, हाम्रो समाजको भविष्य र हाम्रो नेपालका लागि सँगै अघि बढौँ, सबैको माया र आशीर्वादको अपेक्षासहित।’





