काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरी निवेदक धर्मराज तिमिल्सिनाले दिएका हुन्।
उजुरीमा भनिएको छ, शाहले सामाजिक सञ्जालमा ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्द प्रयोग गर्नुले लोकतान्त्रिक बहसको मर्मलाई कमजोर पार्ने, व्यक्तिगत प्रतिष्ठा हानि गर्ने र मतदातामा भ्रम सिर्जना गर्ने खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।
यसअघि नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, तथ्यमा आधारित बहसको सन्दर्भमा शाहले दिएको टिप्पणी विवादास्पद भएको उजुरीमा उल्लेख छ ।
निवेदनले निर्वाचन आचारसंहिता, संविधान र प्रचलित कानूनको उल्लंघन भएको भन्दै आयोगसँग यस्ता अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ ।
उजुरीमा महोत्तरी लगायतका क्षेत्रमा रास्वपाले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको भिडियोको पनि हवाला दिइएको छ । आयोगसँग सो घटनाको सत्यतथ्य छानबिन गरी कारबाही गर्न अनुरोध गरिएको छ ।





