डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ र तनहुँलाई जोड्ने मुख्य सडकखण्ड ‘डुम्रे–बेँसीसहर’ आजदेखि तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। बेँसीसहर नगरपालिका–१, उदीपुरको पहिरोग्रस्त क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य सुरु भएकाले जिल्ला प्रशासन कार्यालय लमजुङले आज बिहान ११ बजेदेखि माघ १४ गते बेलुका ६ बजेसम्मका लागि सवारी आवागमन रोकेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार, केही वर्षअघिको पहिरोले भत्काएको सडक खण्डलाई पक्की बनाउन डुम्रे–बेँसीसहर–चामे सडक कार्यालयको अनुरोधमा यो निर्णय लिइएको हो। सडक बन्द भए पनि यात्रुहरूको सहजताका लागि नेपाली सेनाको चण्डीप्रसाद गण, उदीपुर ब्यारेक क्षेत्रबाट वैकल्पिक ‘डाइभर्सन’ मिलाइएको छ। यो सडकखण्ड काठमाडौँ, पोखरा, चितवन र हिमाली जिल्ला मनाङ जाने–आउने मुख्य मार्ग हो।

वि.सं. २०७८ को बर्खामा गएको ठूलो पहिरोले यहाँको सडक बगाएको थियो। सङ्घीय सरकारको ११ करोड १९ लाख रुपैयाँको बजेटमा अहिले पहिरो रोकथाम र ४०० मिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ। आयोजना प्रमुख सतीश सुवेदीका अनुसार, पहिरो नियन्त्रणको काम हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भइसकेको छ।