नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजकै दिन पार्टीका उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले उम्मेदवार छनोट प्रक्रियालाई आजै निष्कर्षमा पुर्याउने प्रयास भइरहेको जानकारी दिए।
सभापति थापाले पार्टीले सकेसम्म सबै पक्षलाई समेट्ने र उचित निर्णय गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै भने, “आज दिनभरि मेहनत गरेर सबै विषय मिलाउने कोसिस गर्छौं। सकेसम्म राम्रो निर्णयमा पुग्न चाहन्छौं।”
उनले पार्टीको आधिकारिक टिकट प्राप्त गर्ने उम्मेदवारको पक्षमा सबै नेता–कार्यकर्ताले खुलेर साथ दिनुपर्नेमा जोड दिएका छन्। व्यक्तिगत असन्तुष्टि वा मनमा कुरा नराखी यो प्रक्रियालाई साझा अभियानका रूपमा लिन आग्रह गर्दै उनले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
“यो कुनै एक व्यक्तिको मात्र विषय होइन, पार्टीको सामूहिक अभियान हो,” थापाले भने, “सबै साथीहरू एकढिक्का भएर, कुनै गुनासो नराखी पार्टीको निर्णयलाई सफल बनाउनुहुन्छ भन्ने विश्वास लिएको छु।”





