देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा डा. शेखर कोइराला पनि सहभागी भएका छन् ।

देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएको बैठकमा कोइराला सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे र नेता मिनेन्द्र रिजालसहित महाराजगञ्जस्थित देउवा निवास पुगेका हुन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा देउवा पक्षले रणनीतिक छलफल थालेको हो । विशेष महाधिवेशन पक्षले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग गर्ने प्रस्ताव बन्दसत्रमा पेस गरिसकेको अवस्थामा देउवाले पार्टीको पछिल्लो संकटलाई टुंगोमा पु¥याउन यो बैठक डाकेका हुन् ।

नेता कोइरालाले यसअघि नै आफूनिकट नेताहरूसँग छलफल गरिसकेका थिए । ती नेताहरूले कोइरालालाई सभापति देउवा र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माबीच छलफल गरी पार्टीको विवाद मिलाउने जिम्मा दिएको स्रोतले जनाएको छ । कोइरालालाई मध्यस्थकर्ताको भूमिकामा अघि बढाउने तयारी देखिएको छ ।

देउवा निकट नेताहरूका अनुसार बैठकमा विशेष महाधिवेशनको निर्णयहरूको प्रभाव, कानुनी विकल्प तथा आगामी निर्वाचन अभियानबारे गहन छलफल हुने अपेक्षा गरिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आए पनि बहुमत प्रतिनिधिको सहभागिताले स्थिति जटिल बनेको छ ।