नेपाली कांग्रेसको पुस २७ र २८ गते हुने दोस्रो विशेष महाधिवेशन रोक्न पार्टीभित्र पर्दा पछाडिको राजनीतिक चलखेल तीव्र बनेको छ। विशेष महाधिवेशन भाँड्ने प्रयासमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला सक्रिय रूपमा लागिपरेका छन् । सिटौलाले राजधानीका एकतारे होटलमा एनपी साउद र बालकृष्ण खाँडसँग भेटवार्ता गर्दै सभापति शेरबहादुर देउवा निकट नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।
सिटौला खुलेर विशेष महाधिवेशन रोक्न लागिरहँदा सभापति देउवा पक्षकै करिब ३० जना केन्द्रीय सदस्यहरू निर्वाचन अगाडि महाधिवेशनको पक्षमा खुलेर उभिँदै ‘विद्रोह’को तयारीमा पुगेका छन् । उनीहरूले निर्वाचनअघि नै महाधिवेशन अपरिहार्य रहेको निष्कर्षसहित संयुक्त अपील सार्वजनिक गरेका छन् ।
देउवा निकट मानिने केन्द्रीय सदस्यहरूले आज अलग्गै भेला गरी पार्टीभित्र देखिएको विवाद संवाद र सहमतिबाट समाधान गर्दै एकताबद्ध भएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्। उनीहरूको निष्कर्ष छ, ‘निर्वाचनअघि पार्टीलाई पुनः जनविश्वसनीय, भरोसायोग्य र ऊर्जाशील बनाउन महाधिवेशन अपरिहार्य भइसकेको छ ।’
महाधिवेशनको पक्षमा उभिने केन्द्रीय सदस्यहरूमा राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठलगायत रहेका छन् ।
यसअघि पनि यी नेताहरूले सभापति शेरबहादुर देउवा, नेता डा शेखर कोइराला तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेट गरी पार्टीको आन्तरिक संकट समाधान गर्न ध्यानाकर्षण गराइसकेका छन् । उनीहरूले निरन्तर संवाद र सहमतिमार्फत पार्टी एकताबद्ध गर्न आग्रह गर्दै आएका छन् ।
संस्थापन पक्षका अधिकांश नेताहरूको असहमतिबीच महामन्त्रीहरूको आह्वानमा विशेष महाधिवेशन हुँदै गर्दा देउवा पक्षकै केन्द्रीय सदस्यहरूबाट आएको यो अपीललाई पार्टीभित्र अर्थपूर्ण र दबाबमूलक संकेतका रूपमा हेरिएको छ।
यही सन्दर्भमा देउवा पक्षका केही केन्द्रीय सदस्यहरूले आज नयाँ बानेश्वरमा थप छलफल गर्ने तयारी गरेका छन् । चुनावपछि महाधिवेशन हुनुपर्ने अडानमा रहेका नेताहरू पनि समानान्तर बैठकमा जुट्ने तयारीमा रहेको जनाइएको छ।





