रुपन्देही जिल्लाका सफल उद्यमी तथा व्यवस्थापन विज्ञ ज्ञान प्रसाद बस्याल आगामी प्रतिनिधी सभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका छन्। उनको शैक्षिक पृष्ठभूमि, उद्यमशील अनुभव र नेतृत्व क्षमताका कारण उनी नीति निर्माण, आर्थिक सुधार तथा औद्योगिक विकासमा प्रभावकारी भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा हेरिएका छन्।
काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM) बाट विषिष्ट त्रेणीमा मार्केटिङमा एम.बी. ए. र काठमाडौं विश्वविद्यालय अन्तर्गतकै नेपाल कलेज अफ म्यानेजमेन्टबाट फाइनान्समा बी.बी.ए. पास गरेका बस्यालले व्यवस्थापन, वित्त र बजार रणनीतिमा गहिरो समझ राख्छन्। बैंकिङ, शिक्षा तथा कर्पोरेट क्षेत्रमा काम गरेको अनुभवले उनलाई व्यवहारिक अर्थतन्त्र र नीतिगत कमजोरीहरू बुझ्न सक्षम बनाएको छ।
उद्यमशीलतामार्फत उद्योग सञ्चालन, बजार विस्तार, रोजगारी सिर्जना र व्यावसायिक सुशासनका अभ्यासमा संलग्न बस्यालले नेपालका उद्योगहरू प्रतिस्पर्धी बनाउने, साना तथा मझौला उद्योग (SMEs) प्रवर्द्धन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने र उत्पादनमुखी अर्थतन्त्र तर्फ नीति सुधार आवश्यक रहेको बताउँदै आएका छन्। उनको दृष्टिकोणमा कर नीति, सहज वित्तीय पहुँच, उद्योगमैत्री कानुन र बजार सुधार बिना आर्थिक रुपान्तरण सम्भव नरहेको कुरा विभिन्न संघ संस्था तथा फोरमहरुमा बताउदै आएका छन्।
विद्यार्थी नेतृत्व, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता र सामाजिक गतिविधिमा सक्रिय बस्यालले नीति निर्माणमा युवाको सहभागिता, तथ्यमा आधारित निर्णय र पारदर्शी शासन प्रणालीमा जोड दिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ राजनीतिक सोचसँग मेल खाने उनको प्रोफाइलले अर्थतन्त्र र ब्यवसायीक क्षेत्रमा सुधार खोजिरहेका मतदातामाझ आशा जगाएको छ।
आगामी निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा आर्थिक विकास, उद्योग विस्तार र रोजगारी केन्द्रित एजेन्डा बोकेका ज्ञानेन्द्र प्रसाद बस्यालको सम्भावित उम्मेदवारीलाई अर्थपूर्ण र समयसापेक्ष विकल्पका रूपमा हेरिएको छ।





