कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको सुस्ततामाथि प्रश्न उठाउँदै ‘विशेष महाधिवेशन’ को मिति घोषणा गरेपछि पार्टी राजनीति तरंगित बनेको छ ।

महामन्त्रीद्वयले आफूखुसी महाधिवेशनको मिति र स्थान तय गरेपछि सभापति शेरबहादुर देउवा दबाबमा परेका छन् । महामन्त्रीद्वयको यो कदमलगत्तै सभापति देउवाले आज (शुक्रबार) दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

नियमित १५औं महाधिवेशन गर्न नसक्ने स्थिति बनेपछि महामन्त्री थापा र शर्माले आउँदो पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका हुन् । उनीहरूले महाधिवेशनका लागि भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकेको बताएका छन् ।

यसअघि केन्द्रीय समितिले पुस २६ गतेदेखि १५औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, वडा र पालिका तहका अधिवेशन नै हुन नसकेपछि नियमित महाधिवेशन अनिश्चित बनेको थियो । यही शून्यता चिर्न महामन्त्रीहरूले विशेष महाधिवेशनको अस्त्र फालेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग परामर्श गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।