नेपाललाई ‘युक्रेन’ बनाउने भू-राजनीतिक खेल सुरु भयो : झलनाथ खनाल

 पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बाह्य शक्ति र तिनका स्थानीय सहयोगीहरू मिलेर नेपाललाई भू-राजनीतिक द्वन्द्वको केन्द्रबिन्दु बनाउँदै ‘दोस्रो युक्रेन’ बनाउन खोजेको आरोप लगाएका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा बिहीबार एक शुभकामना वक्तव्य जारी गर्दै नेता खनालले मुलुकको वर्तमान भू-राजनीतिक र आन्तरिक सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरूले ‘जेन्जी आन्दोलन’ र अन्य आवरणमा नेपालको स्वाधीनता र वामपन्थी आन्दोलनमाथि प्रहार गरिरहेको दाबी गरे । आफ्नो वक्तव्यमा खनालले गत भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’लाई कडा शब्दमा आलोचना गरेका छन् । उक्त घटनालाई उनले देशी-विदेशी प्रतिक्रियावादीहरूको योजनामा भएको ‘महाविध्वंस’ को संज्ञा दिएका छन् । खनालले भनेका छन्, ‘त्यो आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र तोडफोडले मुलुकलाई महासङ्कटको खाडलमा धकेलेको छ ।’

उनले युवा असन्तुष्टिलाई भजाएर विदेशी पैसाको बलमा समाजवाद र राजनीतिक दलहरू विरुद्ध दुष्प्रचार भइरहेको जिकिर समेत गरे । पश्चिमा शक्तिहरूको एकल प्रभुत्व रहेको विश्व व्यवस्था विघटनको सङ्घारमा पुगेको र न्यायपूर्ण नयाँ विश्व व्यवस्थाले आकार लिइरहेको विश्लेषण खनालले गरेका छन् । यद्यपि, शक्ति सन्तुलनको यो बदलावले नेपाल जस्तो मुलुकमा बाह्य हस्तक्षेप बढाएको उनको निष्कर्ष छ ।

वर्तमान सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गर्दै उनले निष्पक्षतामाथि भने शङ्का व्यक्त गरेका छन् । संविधान मिचेर बनेको सरकारले गराउने चुनाव धाँधलीरहित हुने पूर्वाधार नदेखिएको उनको भनाइ छ । सङ्कट निकासका लागि चुनाव मात्र पर्याप्त नहुने भन्दै उनले संविधान परिमार्जन, सुशासन र रोजगारी सिर्जनाको ठोस खाका आवश्यक रहेको औँल्याए । यसका लागि छरिएर रहेका वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरू एक हुनुपर्नेमा उनले जोड दिएका छन् ।