बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा शोक वक्तव्य जारी

प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले जियाले जीवनभर सार्वजनिक सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको नेतृत्व बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायका रूपमा स्थापित भएको बताइन् ।

यस्तै, नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा उनले खेलेको भूमिकाका लागि नेपालले उनलाई सधैं सम्झिरहने प्रधानमन्त्री कार्कीले उल्लेख गरिन् ।