पाँच सय र हजारको नोट बन्द गर्नुपर्छ : विप्लव

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पाँच सय र हजारका नोट बन्द गर्नुपर्ने बताएका छन्।

बिहीबारबाट सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै विप्लवले नोटबन्दी गर्नुपर्नेमा जोड दिएका हुन्। उनले नेपालबाट पाँच सय र हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाएर दुई सय र चार सयका नोट प्रचलनमा ल्याउन सकिने बताए।

‘कालो धनलाई यदी सेतो बनाउने हो, जनताको बीचमा स्वीकृत हुनेगरी ल्याउने हो भने पाँच सय र एक हजाको नोटमा चाहीँ नोटबन्दी गर्नुपर्छ, खारेज गर्नुपर्छ,’ विप्लवले भने, ‘नयाँ नोट दुई सय, चार सय रुपैयाँको नोटहरू पनि प्रचलनमा ल्याउन सक्नुपर्छ भन्ने हाम्रो कुरा छ। दुई हजारको पनि होला।’

भ्रष्टाचार नियन्त्रणको लागि उच्चस्तरीय छानबिन आयोग बनाउनपर्नेमा पनि उनले जोड दिए। उच्चस्तरीय समितिले छानबिन गरेर उच्चस्तरीय न्यायालयबाट फैसला हुनेगरी व्यवस्था गर्नपर्ने उनको भनाइ छ।

‘हाम्रा मुख्य चार वटा प्रस्तावहरू छन्, सर्वपक्षीय सरकार बन्नुपर्छ, भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ, उच्चस्तरीय न्यायालय बन्नुपर्छ,’ उनले भने, ‘त्यो न्यायालयबाट सर्वोच्चमा पुनरावेदन गर्ने स्थिति बन्नुहुँदैन। अन्तिम फैसला नै त्यही गर्नुपर्छ।’

त्यो न्यायालयबाट भएको फैसलालाई सर्वोच्चमा पुनरावेदन गर्ने स्थिति बनाउन नहुने पनि उनले बताए। भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गरेर हदैसम्मको जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए।

‘भ्रष्टाचारीहरूको सम्पती राष्ट्रियकरण गरेर तिनिहरूलाई हदैसम्मको जन्मकैदसम्मको फैसला हुनुपर्छ। त्यो चाहीँ दोस्रो कुरा हो तर एउटा निष्पक्ष ढंगले छानबिन गर्ने आयोग बन्नुपर्छ,’ उनले भने।

उनले आफ्नो पार्टीले उठाएका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए। आन्दोलन शान्तिपूर्ण हुने उनको भनाई छ।

अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने उनको भनाइ थियो। प्रहरी, कर्मचारी सबैको मनोबल गिरेको अवस्थामा निर्वाचन गराउनको लागि सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता भएको उनले बताए।

महासचिव विप्लवले नेपालमा कम्युनिस्ट पार्टीको एकताको आवश्यकता रहेको औल्याए। एमालेसँग मिलेको आरोपमा लाग्ने गरेको उल्लेख गर्दै उनले केही समान एजेन्डा सबैसँग मिल्ने बताए। त्यहिअनुसार सर्वपक्षीय सरकारको एजेन्डा एमालेसँग मिल्न गएको उनको भनाई थियो।