राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा हुनु भएकाे छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनी आज साँझ रुपन्देही जिल्ला कारागारबाट छुट्नुभएकाे हाे ।
लामिछाने काठमाडौँबाट भरतपुरसम्म हवाईमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुग्नुभएकाे थियाे। सुरुमा उहाँलाई रुपन्देही कारागारमा राखिएको थियो। तर, आफ्नै अनुरोधमा पछि ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको थियो।
बिगोबापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि उहाँलाई थुनामुक्त गरिएको हो। लामिछाने भैरहवा कारागार आइपुग्दा तथा रिहा भएपछि रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले नाराबाजी गर्दै खुसीयाली मनाएका छन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।




