एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटमा बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बिहीबार सम्पन्न भइसकेको छ। शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिएको छ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएकाे छ। साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्।

एमालेको ११ औँ महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ। नयाँ नेतृत्व र केन्द्रीय संरचनासँगै पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न थप सशक्त बनाउने दिशामा आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।